सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : नारायणप्रकाश साउद

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए ।

उनले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

उनले भने – ‘सत्ता गठबन्धनका दलहरूले भागबण्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दा खेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरापनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदूत चयन गर्दैछन् । दलहरूले विज्ञापन निकालेर । यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कूटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन । म यो आग्रह गर्न चाहन्छु ।’

उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =