जीवन तीन घण्टाको सिनेमा होइन, लागुऔषधको समस्या विकराल भयो : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् ।
बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए ।
‘लागुऔषधको समस्या विकराल भएको कुरा मैले पदभार ग्रहण गरेपछि अझ बढी महशुस गरेँ । लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुन्छ,’उनले भने,‘युवाहरु देशमा रोजगारी नपाएर विदेश गएका छन्, कयौँ, लागुऔषधको दुव्र्यसनीमा फसेका छन् । यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन् ।’
उनले लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए ।
उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेको बताए । उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए ।
‘प्रहरीले पक्राउ गर्ने, रिहाव सेन्टरमा लिने, बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्ने कुरा निरन्तर चलि नै रहेको छ । तर यो निरन्तर चलिरहँदा दुव्र्यसनीको संख्या पनि निरन्तर बढी नै रहेको छ,’उनले भने,‘कहीँ न कहीँ कतै न कतै तालमेल मिलेको छैन । अर्थात यहाँ कसै न कसैले इमान्दारितापूर्वक काम गरेको छैन । कसै न कसैले छल गरेको छ । कसै न कसैले आफ्नो कर्तव्य पूरा गरेको छैन ।’
लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनैपनि हालतमा नछोड्ने बताए । उनले सिनेममा देखाए झैँ लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताए ।
आफ्ना अभिभावको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन आग्रह गरे ।
‘हामी त गृह मन्त्रालयको नेतृत्व गर्दछौँ । गृह मन्त्रालय नरम हुने ठाउँमा मात्रै नरम हुने हो, गरम हुने ठाउँमा त गरम नै हुन्छ,’उनले भने,‘त्यसैले हामीले भन्दै आएका छाँै, जो दुव्र्यसनीमा फसेको हुन्छ, त्यसलाई अनदर चान्स, जसले लागुऔषध बेचबिखन गर्दछ, त्यसलाई छोड्दैनौँ ।’
उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभइ पहाडी जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी फैलिएको बताए ।
उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए । यसको लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको बताए ।








