दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौं : कृषिमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् ।

शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् । उनले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन् ।

उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन् । उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताइन् । उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरू माथि खेलबाड गर्न नमिल्ने बताइन् ।

उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताइन् । उनले संस्थानलाई नयाँ स्वरूपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताइन् । उनले दुग्ध विकास संस्थानमा बिचौलिया हाबी भएको भन्दै संस्था बिचौलियाले चलाइरहेको दाबी गरिन् । उनले संस्थानमा ९ सय कर्मचारीहरूमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताइन् ।

उनले स्थायी कर्मचारीहरूलाई जागिर कसैले खोस्न नसक्ने घमन्ड बढेर आएको बताइन् । उनले दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीले थगेर ल्याएको भन्दै करारका कर्मचारी हटाउन सक्ने अवस्था नभएको बताइन् । उनले स्थायी कर्मचारीलाई कारबाही स्वरूप सरुवा गर्दा समेत सरुवा भएर जान नमानेको बताइन् । उनले संस्थानमा काम गर्ने कर्मचारीलाई पनि काम गर्ने वातावरण नदिइएको संस्थानमा अब धेरै दिन कसैको दादागिरी नटिक्ने चेतावनी दिइन् ।

उनले भनिन् ‘दुग्ध विकास संस्थानमा बिचौलिया हाबी भएको छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९ सय कर्मचारीहरू छन् । जसमा ३ सय कर्मचारीहरू अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरू जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमन्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन । करारका कर्मचारीले थेगेर राखेको छ ।       

स्थायी कर्मचारीलाई कारबाही स्वरूप सरुवा गर्दा अहिलेसम्म सरुवा गएको छैन । जानै मान्दैन । किन जान मान्दैन भनेको हप्तामा महिनामा घ्यु लैजाँदोरहेछ । केही सानो टिमले त्यो काम गरिरहेको छ । काम गर्ने कर्मचारीलाई पनि काम गर्ने वातावरण दिइएको छैन । कहीँ नभएको जात्रा दुग्ध विकास संस्थानमा भएको छ । दुग्ध विकास संस्थानलाई निजी संस्थानलाई दिने होकी जस्तो लागेको छ । सरकारको केही स्वामित्वमा राखेर निजी साझेदारीमा जाने होकी अनि मात्रै दीर्घकालीन समस्या हल हुन्छ । मन्त्रालय त्यतातिर सोच्दैछ । त्यही हिसाबले छलफल चलेको छ ।

दीर्घकालीन समस्या समाधान गर्नु आवश्यक छ । संस्थानले किसान वा व्यवसायीसँग खेलबाड गर्न पाइँदैन । मेहनत गर्नेलाई प्रोत्साहन गर्नुसक्नुपर्छ । संस्थानको कमाण्ड चलाउन नसक्नेले सरेण्डर गर्दा हुन्छ । कसले के गर्नसक्छ भनेर दादागिरी देखाउने काम धेरै चल्दैन । अबको एक महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल हुन्छ । सरकारले केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । यो समस्या आजको होइन विगत देखिएको हो ।’

उनले कर्मचारीहरूले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताइन् । उनले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *