चुरे तथा वनजंगल संरक्षण अभियन्ताले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षण अभियानले वनजंगल तथा चुरे एवं वनजंगल संरक्षण लगायतका माग राख्दै मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
अभियानका संयोजक सुनिल यादवको अगुवाइमा पुगेका अभियान्ताहरुले विभिन्न माग राख्दै शुक्रवार मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
चुरे तथा वनजंगल संरक्षण अभियान विगत ७ वर्षदेखि निरन्तर धर्ना, जुलुस प्रदर्शन, आमरण अनसन, पैदल यात्रा लगायतका संघर्ष र आन्दोलनका कार्यक्रमहरू गर्दै आएपनि प्रदेश सरकार तथा संघ सरकारले आफूहरूको मागप्रति बेवास्ता गर्दै आएकाले मुख्यमन्त्रीलाई फेरि ज्ञापन पत्र बुझाएको संयोजक यादवले बताए ।

अभियानले संघीय सरकारद्वारा ल्याइएको ढुङ्गा, गिटी र बालुवा विदेश निकासी गर्ने विधेयक तत्काल खारेज गरी अतिक्रमणमा परेको चुरे वन क्षेत्रको जग्गा खाली गराइनु पर्ने, भूमि आयोग गठन गरी दलित भूमिहीन तथा सुकुम्वासीहरूलाई भूमिको व्यवस्था गरी नेपाललाई भूमिहीन मुक्त राष्ट्र घोषणा गरियोस्, चुरे क्षेत्र भित्रका नदी नालाहरूबाट अवैध निकासी हुने ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योग तत्काल बन्द गरियोस् तथा यस्ता कार्यहरूमा संलग्नहरू माथि कडा कारबाही गरियोस्, ओम प्रकाश भनिने दिलीप महतोलाई प्रथम पर्यावरण सहिद घोषणा गरियोस्, मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयद्वारा आर्थिक वर्ष २०७९/०८० को विभिन्न योजनामा सरुवामा भएको भ्रष्टाचार र आ.व. २०८०/०८१ मा वन तथा वातावरण मन्त्रालयद्वारा भएको आर्थिक चलखेलको सत्य तथ्य छानबिन गरियोस् लगायतका माग राख्दै आएका छन् ।








