क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँ : एमाले (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरे ।
‘आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ’उनले भने,‘त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’
उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए ।
उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए ।
उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।
‘टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन’् उनले भने,‘र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार ग¥यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ ।’








