ज्ञानेन्द्र शाहीको प्रश्न- भारतमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री सरह सम्मान भयो, किन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले भारतमा प्रधानमन्त्रीलाई दिइएको सम्मानमाथि प्रश्न उठाएका हुन् ।
उनले कुनै प्रदेशको मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीको शपथमा हाजिर गर्न गएको जस्तो देखिएको बताए । ‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ । भारतले गरेको आत्मसम्मान त्यो प्रधानमन्त्रीलाई गरेको हो कि नेपाललाई गरेको हो ?,’ उनले भने, ‘त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन् ।’
साथै उनले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । ‘गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ ?’ उनले भने, ‘आकाशमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।’








