कांग्रेस ०८४ सम्म सरकार गिराउने/बनाउने खेलमा लाग्दैन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसल चुनावमा गएअनुसारको प्रतिवद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए । प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने उनको भनाई छ ।

महामन्त्री थापाले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ । हामीलाई नियतिले प्रतिपक्षको भूमिकामा पु¥यायो, हामी त्यहीँ बैस्छौँ । प्रतिपक्षको भुमिका निर्वाह गर्दछौँ । प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी नै गर्दैनौँ त ? मज्जाले गर्छौं । किनभने हाम्रा केही जिम्मेवारी छन् । अहिले पनि हामी संसदको ठूलो पार्टी हो । अहिले पनि हामी संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी हो । त्यसैले हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन । चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदवाल ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाए । ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो,’ उनले भने, ‘नेपाली काँग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ । एउटा पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । काँग्रेसका आँखाले हेर्दा गलत भन्न सक्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =