‘निम्स दाई’को समर्थनमा म्याग्दीमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जा ‘निम्स दाई’को समर्थनमा म्याग्दीको बेनीमा प्रदर्शन भएको छ । अनेरास्ववियु म्याग्दीले पूर्जाको समर्थनमा बिहीबार प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्जालाई नेपाल प्रवेशमा रोक लगाउन सरकारसँग माग गरेका थिए ।

बजगाईँले न्युयोर्क टाइम्समा छापिएको यौन दुव्र्यवहारको समाचारसहित हिमालमा डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर बदनाम गर्ने, नेपाली नागरिकतामा हिमाल चढ्नेलगायतका कार्य गरेकाले उनलाई नेपाल सरकारले वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्ने माग गरेका थिए ।

यही अभिव्यक्तिले आक्रोशित भएका अनेरास्ववियु म्याग्दीका युवाहरुले बेनी बजारमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले का्रग्रेस सांसद बजगाईँले माफी माग्नुपर्ने माग पनि गरेका छन् ।

उनीहरुले सांसद बजगाईँले माफी नमागे म्याग्दीबाट सुरु भएको आन्दोलन देशव्यापी गर्ने चेतावनी पनि दिएका छन् ।

उनीहरुले हिमाल सबैको हो सिन्डिकेट बन्द गर, निम्स दाई आइएम विथ यु, देशको गहनाको बदनाम बन्द गर, निम्स दाईमाथिको राजनीति बन्द गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

पूर्जाले सन् २०१८ मा सगरमाथा आरोहण गरेका थिए । त्यतिबेला उनले खिचेको सगरमाथाको भिडको तस्वीरले संसारको ध्यान खिचेको थियो । उनले सगरमाथा आरोहणका क्रममा चार जना अरु आरोहीहरूको उद्धारसमेत गरेका थिए ।

अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले उनको बारे डकुमेन्ट्री पनि बनाएको थियो । कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यालाई समेत उनले गाइड गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *