उत्पादनमुखी भएर बजेट ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गरेका छन् ।
मंगलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले बजेट पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकासने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारे ।
उनले बजेट ठूला र प्रभावशाली नेता,मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको उल्लेख गरे ।
अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उद्देश्यहरु समेत क्रमशः पूरा हुने विश्वास रहेको बताए ।
उनले बैंकहरुमा तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरुमा रहेको बताए । अथमन्त्री पुनले बजेट र करका नीतिहरुले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवद्र्धन गर्ने कोशिस गरेको जानकारी दिए ।
उनले यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने उल्लेख गरे । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले मुलुकको कुल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको दाबी गरे ।
उनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने बताए ।
उनले मध्यावधिक खर्च संरचनाले उल्लेख गरे भन्दा करिव १ खर्ब कम आकारको बजेट आएको बताए ।








