एमाले र माओवादीबीच खटपट भएको छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट शुरु भयो भन्नेकुरा गलत भएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको स्पष्ट पारे ।
‘सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेष एमाले र माओवादीकै बीचमा खटपट शुरु भएको भन्ने होइन’ उनले भने, ‘मजबुत ढंगबाट यो सरकार अघि बढ्छ ।’
उनले बजेटमा सत्ता पक्षका सांसदहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए । उनले बजेटप्रति एमालेको आक्रोस, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरु मात्रै रहेको बताए ।
‘यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन’ उनले भने, ‘यो बजेटप्रति हाम्रो केही सुझावहरु छ । छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो ।’
उनले बजेटमा एमालेले राजनीतिक रुपमा समर्थन गरेर अघि बढ्ने बताए ।








