बयलपाटा अस्पताल बन्द हुने अवस्थामा छ, बजेटको व्यवस्था गर्नुपर्छ : सांसद कुँवर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सरकारले बजेट नदिँदा सो अस्पताल बन्द हुने अवस्थामा पुगेको सरकारले यही असार मसान्तभित्र बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद कुँवरले आम नागरिकलाई निःशुल्क उपचार गराइरहेको सो अस्पतालको नौ करोड बजेट कटौती गर्ने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारले बाढी, पहिरो, आगलागीबाट हुने क्षतिका लागि राहतको व्यवस्था गर्न पनि ढिलाइ गर्न नहुने बताए ।
सांसद कुँवरले भने ‘बयलपाटा हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ । अछाममा निःशुल्क उपचार गराइको सो अस्पतालमा सरकारले नौंकरोड बजेट नदिँदा त्यहाँ कर्मचारी तलब खान नपाउने अवस्थामा पुगेका छन् । त्यसकारण तत्काल सो अस्पतालमा असार मसान्त भित्र बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।’
सांसद कुँवरले देशभरमा आगलागीबाट ठूलो क्षति भएपनि पीडितलाई राहत दिने कुरामा सरकारले ध्यान नदिएको गुनासो पनि गरे ।








