तपाईँहरूको भविष्यका लागि मैले राजनीति गरिरहेको छु : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आयोजना गरेको ‘नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका हुन् ।

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए । नेता डा कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए । ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उनले भने ।

नेता डा कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय चारैतिर अराजकताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । सहकारीको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बनेर बसेको उनको भनाई छ ।

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा कोइरालाले भने । उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताए । राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाई छ ।

डा कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्‍यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गरे । विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाई छ । ‘तपाईँहरूको भविष्यका लागि मैले राजनीतिक गरेको हुँ, युवाहरू विदेश पलायन हुँदा मलाई चिन्ता लागेको छ । युवालाई स्वदेशमा रोजगारी दिने वातावरणमा लाग्नुपर्छ,’ उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए । नेता डा कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *