पक्षमा दुई विज्ञप्ति

स्कुल बसमा आगो लगाएको आरोपमा विव्यस अध्यक्ष पक्राउ

काठमाडौं । चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारु (महेश)लाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागममती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले बताएको छ । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दै विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो ।

माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गर्ने उनी जिल्लामा गतिविधि गर्दै आएको प्रहरीको भनाई छ । नेकपा (माओवादी)का महासचिव महावीरले शनिबार विज्ञप्ति जारी गरेर प्रवक्ता महेशलाई चितवन प्रहरीले शुक्रबार अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै भत्सर्ना समेत गरेका छन् ।

बसको आगो लगाउन ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर-२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको हो ।

यो पनि : अज्ञात समूहले विद्यार्थी र स्टाफलाई उतार्दै स्कुल बसमा लगायो आगो, मोबाइल नियन्त्रणमा लिएर फरार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *