सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः सबै दललाई एकजुट गराउन पहल गरियोस्

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मुलुक संकटमा रहेकाले सबै राजनीतिक दललाई एकजुट बनाउने काममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले राष्ट्रिय मुद्दा तय गरी मुलुकलाई संकटबाट जोगाउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले राजनीतिक दलहरूबीचको आरोप–प्रत्यारोप र घोचपेचबाट मुलुकमा देखिएको संकट समाधान हुन नसक्ने बताए ।

सांसद सिंहले सबै पेशा, व्यवसायमा रहेका नागरिक संकटको चपेटामा परेको उल्लेख गर्दै निराशा अन्त्य गर्न सबै दलले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने बताए ।

‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैराश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न भन्ने भाष्य निर्माण यो संसदबाट कम्तीमा नगरौँ,’ उनले भने ।

उनले सत्ता पक्ष र प्रतिपक्ष स्थायी नभएको भन्दै लोकतन्त्र र राज्य जोगाउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

‘राज्य रह्यो भने, नागरिक रह्यो भने लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला । कोही सत्ता पक्ष, कोही प्रतिपक्षमा रहौँला । तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँ पनि रहँदैनौँ,’ उनले भने ।

सांसद सिंहले व्यवसायी, युवा, विद्यार्थी लगायत सबै वर्गमा निराशा बढिरहेको भन्दै संसदबाट निराशा नभई समाधानको सन्देश जानुपर्ने बताए ।

उनले सभामुख डोलप्रसाद अर्याललाई संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याएर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे ।

‘संसदभित्र उपस्थित तमाम दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ । हामी सम्पूर्ण दलहरू मिले मात्रै यो राष्ट्र बाँच्न सक्छ, संविधान बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भने ।

सांसद सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न सरकारले नागरिकमा बढेको निराशा हटाउने दिशामा पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =