मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउनेलाई कडा कारबाही गर्न सरकारसँग एमाले सांसद ठगुन्नाको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि मानसिक त्रास फैलाउने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले विभिन्न सञ्चारमाध्यम र राजनीतिक नेतृत्वको घरमा सवारीसाधन तेस्र्याएर मानसिक त्रास सिर्जना गर्ने गतिविधि गम्भीर भएकाले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले यस्तो गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैलाएको राज्य आतंकको झझल्को दिलाउने सांकेतिक घटनाका रूपमा चित्रण गरे । उनले भने, ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ । हेर्दा यो सांकेतिक रूपको सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको झझल्कोको रूपमा हामीलाई याद आउँछ ।’

ठगुन्नाले यस्ता गतिविधि देश र लोकतन्त्रका लागि हितकर नरहेको उल्लेख गर्दै संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले भने, ‘यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ ।’

सांसद ठगुन्नाले सरकारले नागरिकको स्वास्थ्य उपचारप्रति पनि गम्भीरता नदेखाएको आरोप लगाए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘३५ सय प्रिमियममा एक लाख दायित्व भुक्तानी गर्न नसकिने’ भन्ने अभिव्यक्तिले सरकार गरिब नागरिकको उपचारप्रति जिम्मेवार नरहेको पुष्टि भएको उनको दाबी थियो ।

उनले भने, ‘स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । नागरिकलाई स्वास्थ्य सेवामा अझै पहुँच बढाउनुपर्नेमा वर्तमान सरकारका अर्थमन्त्रीजीले स्वास्थ्य सेवामा ३५ सय प्रिमियममा एक लाख दायित्व भुक्तानी गर्न नसकिने भनेर दिएको अभिव्यक्तिले यो सरकार गरिब नागरिकको उपचारप्रति जिम्मेवारी छैन भन्ने स्पष्ट हुन्छ ।’

त्यस अवसरमा सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्री बालेन्द्र साहका राष्ट्रहितविरोधी गतिविधि सच्याउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =