बीमा क्षेत्रमा बेथिति बढ्यो, नियामक क्षमता कमजोर देखियो: लिमा अधिकारी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बीमा क्षेत्रमा देखिएका बेथिति र नेपाल बीमा प्राधिकरणको नियामक क्षमतामाथि प्रश्न उठाएकी छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बीमा कम्पनीको इजाजत वितरण तथा मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरिन् ।

उनले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा गरी ३७ वटा कम्पनी सञ्चालनमा रहे पनि बीमाको पहुँच न्यून रहेको बताइन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेट्दा कुल जनसंख्याको ४४ प्रतिशत मात्रै बीमाको पहुँचमा रहेको र ५६ प्रतिशत नागरिक अझै बीमाबाट बाहिर रहेको तथ्यांक प्रस्तुत गर्दै उनले बीमा प्राधिकरणको प्रभावकारितामाथि प्रश्न उठाइन् ।

सांसद अधिकारीले बजारको आवश्यकता र क्षमताको अध्ययन नगरी विगतमा धमाधम इजाजत वितरण गरिएको र छोटो समयमै पुँजी वृद्धि गरी मर्जरमा जान दबाब दिइएको भन्दै नीतिगत विरोधाभास देखिएको बताइन् ।

‘यसरी लाइसेन्स दिने र तुरुन्तै फेरि मर्जरमा जाने नीतिले निश्चित व्यावसायिक घरानालाई पोस्ने र अर्बौंको आर्थिक चलखेल भएको हुनसक्ने आम नागरिकको प्रश्न छ । यस्तो आत्मघाती र अदूरदर्शी नीतिको जिम्मेवारी कसले लिने ?’ उनले भनिन् ।

उनले बीमा गरेपछि झन्झट व्यहोर्नुपर्छ भन्ने धारणा नागरिकमा विकास भएको भन्दै बीमा कम्पनी र नियामक निकायको भूमिकामाथि प्रश्न गरिन् ।

‘बीमा कम्पनीहरू किन यति निरीह भएका हुन् र प्राधिकरण किन यति कमजोर देखिएको हो ? कतै प्राधिकरण सञ्चालक र राजनीतिक नेतृत्वको प्रभावमा त परेको छैन ?’ उनले प्रश्न गरिन् ।

सांसद अधिकारीले बीमा साक्षरता कोषमार्फत संकलन हुने रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने विषयमा पारदर्शिता आवश्यक रहेको बताइन् ।

उनले दुर्गम क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पुर्‍याउन प्रविधिमा आधारित ‘डिजिटल बीमा’ कार्यक्रमबारे पनि प्राधिकरणसँग स्पष्ट योजना माग गरिन् ।

बीमा दाबी भुक्तानीका क्रममा आम नागरिकले सास्ती भोग्नुपरेको र विपद्को समयमा समेत समयमै भुक्तानी नपाउने गुनासो रहेको उल्लेख गर्दै उनले यस विषयमा प्रभावकारी सुधार गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =