बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताए ।

उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए ।

उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आईतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

उनले भने– ‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरुसँग, प्रतिपक्ष दलका नेताहरुसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमती र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महशुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली काँग्रेसका सभापति लगायतका नेताहरुसँग बुढानिलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतीको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमती र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकै छौँ । अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानविन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ र संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमती भइ नै सकेको छ । अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोली बिहानसम्म सझदारी हुन सक्छ । र प्रधानमन्त्रीको हैसियतले मैले त्यो समझदारी कायम होस् भन्नको निम्ति निरन्तर प्रयास गरेको म जानकारी गराउन चाहन्छु ।’

उनले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतीको नजिकै पुगेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *