भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरु गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।

निःशुल्क उपचार गरिएकामध्ये १८ जना सिन्धुपाल्चोक र बाँकी सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका उनीले जानकारी दिइन् । भक्तपुरका ग्रामीण भेग र अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम जारी रहेको जानकारी दिँदै उनीले महिलालाई रोग लुकाएर नबस्न र उपचारका लागि आउन आह्वान गरिन् ।

डा गौतमले भनिन्, ‘पाठेघर खस्ने समस्या लिएर आएका महिलामा धेरै पीडा लुकेको पाइयो, केहीले रोग भन्न नसकेर बसे पनि धेरैले आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेको गुनासो गर्ने गरेको छन् । अब पैसा नभएकै कारण उपचार रोकिँदैन, हामी निःशुल्क उपचार गर्छौँ । यहाँ आएका जुनसुकै क्षेत्रका महिलाले निःशुल्क उपचार एवम् शल्यक्रिया सेवा पाउँछन् ।’

अस्पतालले बिरामीको पाठेघरको परीक्षण, ल्याब परीक्षण, शल्यक्रिया, अस्पतालमा रहेसम्म बिरामी र एकजना कुरुवालाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्नुका साथै घर फर्कदा यातायात खर्चबापत एक हजार दिएर पठाउने गरेको छ ।

सङ्घीय सरकारबाट प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमार्फत आउने बजेटबाट खर्च समायोजन गर्ने गरी पाठेघरको निःशुल्क उपचार एवम् शल्यक्रिया अभियान सुरु गरिएको जनाइएको छ । यो भियान असार मसान्तसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *