टीओआर टुंग्याउन आफै अघि सरे प्रचण्ड, ओली र देउवा

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरूसहितको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले बालुवाटारमा सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ । यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शीर्ष नेताहरूको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।

कार्यदलका सदस्य परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरू उपस्थित रहेका थिए । बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ ।

बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए । उनले भने, ‘सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’

यसअघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगी भएका सहकारीको नाम र ऋण लैजाने कम्पनीको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो । आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *