रविकै नाममा अड्को

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक बस्दैछ । बिहीबार निष्कर्षविहीन भएको बैठक आज पुनः बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको छ । बिहीबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ-आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन ।

सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् । संसदीय छानबिन समिति गठन गर्नेमा बल्ल बल्ल सहमति गरेका दलहरूबीच यसको कार्यादेशमा कुरा नमिल्दा कांग्रेसले संसद्‌मा अवरोध जारी राखेको छ ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअगाडि नै सहमति गर्ने नेताहरूको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यसअघि नै सहमति जुटाउन कार्यदल प्रयासरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *