दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मापदण्ड गुम्दै, खेलकुदमन्त्रीले गरे निरीक्षण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन् ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गरेका हुन् ।

सो क्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका थिए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गरे ।

साथै सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधि मण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ । दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर एएफसी प्रतिनिधिले केही समयअगाडि दशरथ रंगशालाको निरीक्षण गर्दै त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुन अयोग्य रहेको रिपोर्ट प्रश्तुत गरेका थिए ।

केही दिन अगाडि मात्र एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न दशथ रंगशाला अयोग्य रहेको पत्रचार गरेको थियो ।

त्यससँगै विश्वकप छनोटचरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको नेपालले संयुक्त अरब इमिरेट्स (युएई ) सँग पनि ‘होम म्याच’ गुमाउने भय बढेको छ ।

मन्त्री श्रेष्ठले एन्फा र राखेपबीच समन्वयनको अभाव देखिएको र तीमध्ये फ्लट लाइटमा केही समस्या आएको उल्लेख गरे ।

यी आवश्यक पक्ष सुधार गर्दै पाँच दिन भित्र रिपोर्ट बुझाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए ।

फिफा र एएफसीको मापदण्डअनुरूप स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाकसन प्लान, कलर कोडेड प्लोर प्लान डाइग्रम र रिस्क एनालाइसिस स्पेसिफिक प्लान टु द स्टियमम बारे एन्फाले पालना गर्नुपर्ने रिपोर्टमा प्रश्तुत गरिएको थियो । एएफसीले पनि सोही कुरा एन्फालाई पत्रचार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *