श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन शंकर पोखरेलको आग्रह

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरूले सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरूलाई त्यसमा जोडने कुरामा सरकारले भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको औँल्याउँदै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।

उनले भने, ‘अहिले पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा भित्र आउन नसकेका सम्पूर्ण श्रमजीवि वर्गलाई दायरामा ल्याउने कुरालाई नै हामीले हाम्रो प्राथमिकताको विषय बनाउन सक्नु पर्दछ । म नेपाल सरकार र माननीय मन्त्रीज्युलाई आग्रह र अनुरोध गर्न चाहन्छु– आज पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम भन्दा बाहिर ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरू त्यो अवसरबाट वञ्चित रहेका छन् । ‘

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवर्द्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *