उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेसमाथि तीन दलको दबाब

काठमाडौँ । सत्तारुढ प्रमुख ३ दलका शीर्ष नेताहरूले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने अडान राखेका हुन् ।

सत्तारुढ दलका शीर्ष नेताहरूले संसदमा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानबिनका लागि काँग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रस्ट्याएका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताए । लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने अधिकारलाई अभ्यास गर्न दिन नेपाली काँग्रेस चुक्नु नहुने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भने ‘हाम्रो त त्यही छ, नयाँ कुरा केही मसँग केही छैन । हामीले मागेको नै के छ र । एकपटक बोल्न त पाउनु प¥यो । निरन्तर रुपमा प्रश्नहरू उठे । आरोपहरू लागे । सदनमा पनि गालीगलौज नै चल्यो । सडकमा पनि चलिसक्यो अब त । भनेपछि लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो । त्यति एउटा चिज नै हो । त्यसपछाडि अघि बढिहाल्छ । त्यसपछि पनि भएन, चित्त बुझेन, जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको त हामी फेरी सम्मान गरिहाल्छौँ नि । त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको हामी पूरै सम्मान गरिहाल्छौँ । मलाई जहाँसम्म लाग्छ, त्यति बोल्न हामीले पाउनुपर्ने भन्ने हाम्रो भनाई हो । मैले त पहिलेदेखिनै त्यही कोसिस गरिराखेको छु । लोकतन्त्रमा त्यति अभ्यास गर्न पाउनु पर्छ । नेपाली काँग्रेसजस्तो पार्टीलाई त्यति अभ्यासमा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई । ’

नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । यता, सत्तारुढ दलका शीर्ष नेताहरू दाहाल, ओली र लामिछानेबीच पनि सांसदलाई सुचारु गराउने विषयमा केन्द्रीय रहेर निरन्तर छलफल भईरहेको छ । एमाले अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा काँग्रेस भोली बोलाइएको संसद बैठकमा पनि उपप्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढ्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *