वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको बलियो लक्ष्य

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो ।

वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।  यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले  ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हालेका छन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *