यस्तो छ विश्वकप खेल्ने नेपाली टोलीको तालिका

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीले यसपालि राम्रो तयारी गरेको देखिएको छ । कुनै पनि प्रतियोगिता अगाडि राष्ट्रिय क्रिकेट टोलीले गरेको यो अहिलेसम्मकै उत्कृष्ट तयारी मानिएको छ ।

टी-२० विश्वकप सुरु हुन अब दुई साता मात्र बाँकी छ । नेपालले अबको दुई सातापछि अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा द नेदरल्यान्ड्सविरुद्ध विश्वकपको पहिलो खेल खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सहभागी सबै २० राष्ट्रलाई दुईवटा आधिकारिक वार्मअप खेल दिएकोमा नेपालले क्यानडा र अमेरिकासँग त्यस्तो खेल खेल्ने भएको छ । नेपालले मे २७ तारिखमा क्यानडासँग र मे ३० मा आयोजक अमेरिकासँग खेल्नेछ ।

दुवै खेल ग्रान्ड प्रिरे रङ्गशालामा हुनेछ। यही मैदानमा अमेरिकाले उद्घाटन खेलमा क्यानडासँग र त्यसको दुई दिनपछि नेपालले द नेदरल्यान्ड्ससँग खेल्नेछ । उक्त आधिकारिक वार्मअप खेल्नु अगाडि टोलीले ह्युस्टनमा दुई वटा अभ्यास खेल खेल्ने तालिका छ । ह्युस्टन हरिकेन्स टोलीसँग नेपालले यसै हप्ता मे २२ र २३ मा दुई अभ्यास खेल खेल्न लागेको हो ।

त्यसको लागि वेस्ट इन्डिजमा तीन वटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली अमेरिका पुगिसकेको छ । पछिल्लो तीन सातामा राष्ट्रिय क्रिकेट टोलीले जम्मा सात वटा अभ्यास खेल खेल्ने तालिका थियो ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पुगेर टोलीले त्यहाँको स्थानीय टोली सेन्ट भिन्सेन्ट एन्ड विन्डवार्डसँग मे १४, १६ र १८ मा गरी तीन वटा मैत्रीपूर्ण खेल खेल्यो । तीनमध्ये टोलीले दुई खेलमा जित तथा एउटामा हार बेहोरेको छ ।

जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ । वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ । नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *