अभ्यासमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी-२० विश्वकप लक्षित अभ्यास सुरु गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पनि सन्दीपलाई अमेरिका र वेष्ट इण्डिजमा जुन १ तारिखदेखि सुरु हुने टी-२० विश्वकप खेलाउने तयारी गरेको हो ।

पाटन उच्च अदालतले गत बुधबार पूर्व कप्तान सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि तत्कालै क्यानले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । सन्दीपले शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानको अभ्यास सेन्टरमा पुगेर तयारीसमेत गरेका छन् । सन्दीपको तयारीका क्रममा क्यानमा सचिव एवं पूर्वकप्तान पारस खड्का पनि पुगेका थिए ।

विश्वकपका लागि नेपाली टोली अहिले वेष्ट इण्डिज पुगेको छ । टोलीमा यसअघि नै १५ जना खेलाडी समावेश छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मे २५ तारिखसम्म टोलीको खेलाडीमा फेरबदल गर्न पाउने व्यवस्था छ । क्यानले सन्दीपलाई विश्वकप खेल्न टोलीमा सामेल गराउने तयारी गरिरहेको जनाएको छ ।

पाँच महिना मैदानबाहिर रहेका सन्दीप टोलीमा अटाउन शारीरिक, मानसिक र प्राविधिकरूपले फिट हुनुपर्ने हुन्छ । नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको भूमिका उल्लेख्य रहेको थियो । आइसिसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले समूहको दोस्रो खेल जुन १२ मा श्रीलंका, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बंगलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो ।

यसअघि नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो । विश्वकपअघि नेपालले आइसिसीले तय गरेका दुईवटा अभ्यास खेल पनि खेल्नेछ । जसअनुसार नेपालले मे २७ तारिख क्यानडा र मे ३० तारिख आयोजक अमेरिकासँग खेल्नेछ । उक्त खेल डालासमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *