चौथो राष्ट्रिय तेक्वान्दोमा संगम र सौरवलाई स्वर्ण

काठमाडौँ । चन्द्रागिरीका संगम थापामगर र सगौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आइतबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा क्योरोगीतर्फ चन्द्रागिरीका संगमले पुरुष ३१ केजी तौलसमूह र सौरवले पुरुष २८ केजी तौलसमूहमा स्वर्ण जिते । संगमले फाइनलमा पर्वतका प्रसन थापालाई हराए । सौरवले भने फाइनलमा धुलिखेलका रिजन शिवभक्तलाई पराजित गरे । यो तौलसमूमा नेसनल तेक्वान्दो एकेडेमीका अर्थ कुँइकेल र रोज तितुङले कांस्य पदक जिते ।

कोटेश्वर तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) मा पुरुषकै २२ केजी तौलसमूहमा सिन्धुपाल्चोकका कुशल नेपाली र २५ केजी तौलसमूहमा ककनीका सुवास तामाङले स्वर्ण पदक जिते । फाइनलमा कुशलले कोटेश्वर डोजाङका अनमोल केसी हराए । यसै तौलमा प्राञ्जलीका अंकितबाबु अधिकारी र हिमाल पाण्डेले काँस्य पदक जिते । सुवासले भने फाइनलमा नेसनल तेक्वान्दो एकेडेमीका आहन तामाङलाई पराजित गरे ।

प्रकाश समशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले यो प्रतियोगिता खेलेमा खेलाडीलाई कारबाही गर्ने चेतावनी दिएको थियो । सोही कारण विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका खेलाडीले भने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएनन् । यद्यपि, प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस प्रतियोगितामा देशभरबाट करिब ६ सय खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरे । महिला जुनियर ३१ केजी तौलसमूहमा चन्द्रागिरिकी सेजल रोक्काले फाइनलमा पर्वतकी कृतिका थापालाई हराउँदै स्वर्ण जिते ।

यसै तौलमा कञ्चनपुरकी पूजा सार्की र नवजीवनकी रोश्नी आचार्यले कास्ंय पदक जितिन् । जुनियर महिला २८ केजीमा सुदूरपश्चिमकी दीपिका थापा र २५ केजीमा चन्द्रागिरिकी नेओमी महर्जन स्वर्ण पदक जित्न सफल भए । फाइनलमा दीपिकाले दोलखाकी अर्पणा कुमाल र नेओमीले चन्द्रागिरिकै मारिया तामाङलाई हराइन् । दीपिकाको तौलसमूहमा नेसनल तेक्वान्दो एकेडेमीकी श्वेनी लामा र बैभारी सापकोटाले काँस्य पदक जिते । २५ केजीमा भने छेत्रपालकी रोनिता पाण्डे र प्रन्जलीकी सीता मुनिकारले काँस्य पदक जिते ।

जुनियर महिला २२ केजीमा नेसनल तेक्वान्दो एकेडेमी (एनटिए) की पुनम घिमिरेले पर्वतकी ट्विन्कल मल्ललाई हराउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाइन् । यसै विधामा चन्द्रागिरिकी लियाना आले मगर र मुस्कान सेवाकी देविका आलेमगरले कांस्य पदक जिते । प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष÷महिलामा समान ६/६ गरी कुल १२ स्पर्धा भएको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा क्योरोगीकै जुनियर पुरुष/महिलामा समान १०/१० गरी २० स्पर्धामा भिडन्त हुँदै छ । क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । यो प्रतियोगिता आगामी अगस्ट २३ देखि २४ सम्म दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को खेलाडी छनोटको आधारसमेत हो । यहाँबाट समान तीन पुरुष र महिला गरी कुल ६ खेलाडी सिओलमा हुने प्रतियोगितामा छनोट हुनेछन् ।

व्यक्तिगत पुम्सेबाट समान एक पुरुष/महिला तथा सिनियर स्पर्धाबाट समान २/२ पुरुष र महिला गरी चार खेलाडी छनोट हुनेछन् । सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । समान २/२ पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष तीन स्थानमा रहने टोलीले भने क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि जनही १० हजार नगदबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *