कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ : ओली (भिडिओ)

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताए ।

उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए । उनले संसद पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए । नेपाली काँग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए ।

उनले भने ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरू, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरूको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्नेकुरा त भएन । अहिले ठिकै हो । यतिबेला बन्द हुनै पर्थ्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन सुरु हुनैपर्छ । १५ दिनको ग्याप राख्नैपर्छ कमसेकम । गर्दा वैशाखको १८, २० यसै जाने भयो । जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रस्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ । त्यसो भएको हुनाले काँग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा । सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरू तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति काँग्रेसलाई परेको छ । काँग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए । उनले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयकहरू पारित गर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *