शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ– मन्त्री चौधरी 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताएकी छन्।
काठमाडौँमा आज आयोजित दुर्गा दाहाल ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राखे।
धनकुटा जिल्ला चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी थिए। स्मृति कार्यक्रममा उहाँले समाजमा दिएको योगदानको चर्चा गरिएको थियो ।
यसै सन्दर्भमा मन्त्री चौधरीले दिवङ्गत श्रीमान् दिनेश चौधरीको स्मरण गरेकी थिइन्। श्रीमान्ले समाजमा छोटो समयमा गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै उनको सपना आफूले साकार पार्दै गरेको बताए।
“दिनेशजी सारै ऊर्जावान हुनुहुन्थ्यो”, मन्त्री चौधरी सम्झिन्छिन्, “उहाँले देखेका सपना पूरा गर्न दिनेश स्मृति प्रतिष्ठानबाट समाज सेवाका काम निरन्तर गरिरहेका छौँ ।” उनले दिनेश र दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको स्मृति समाजमा थप असल काम गर्न हौसला प्रदान हुने बताइन्।
दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले कार्यक्रममा मानवशास्त्री एवं प्रा डा डम्बर चेम्जोङलाई सम्मान गरेको थियो ।
मन्त्री चौधरीद्वारा उनलाई ताम्रपत्र, दोसल्ला र १० हजार नगद हस्तान्तरण गरिएको थियो । चेम्जोङले २०३५ सालदेखि शिक्षा सेवामा लागेको र दुर्गा दाहालको अभिभावकत्वमा काम गर्न पाएको अनुभव सुनाए।
“त्यतिबेला शिक्षाको स्थिति अत्यन्त नाजुक थियो”, उनले बाल्यकालको शिक्षा स्मरण गर्दै भने, “शिक्षा नीति सुधार्ने आधारभूत विद्यालयबाटै हो ।” डा डम्बरले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई सहयोगस्वरुप रु ५० हजार प्रदान गर्ने वचन दिए।
राससका महाप्रबन्धक सिद्धराज राईले मित्रवत् व्यवहार र उद्देश्यप्रतिको लगाव कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गा दाहालको जीवनीले सिकाएको बताए
“मान्छे हारेपछि थाक्छ”, महाप्रबन्धक राईले भने, “तर दुर्गा दाहाल सरबाट हरेस खाने र थाक्ने शब्दै थिएन ।”
सहकारीलाई व्यवस्थित गर्न धनकुटामा बैठक गरिरहेका बेला उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । दुर्गाले पढाएका विद्यार्थी लोकेन्द्र याख्खाले किताबी ज्ञानसँगै नैतिक शिक्षा समेत उहाँबाट प्राप्त गरेको स्मरण गरे।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =