बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठको

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन् ।

भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भइरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टीकरण आएको हो । उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राखे ।

मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको प्रावधान सम्बन्धी छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नलिएको पनि स्मरण गराए । बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।

उनले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने पनि बताए । उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढ्न भुमिका खेल्नुपर्ने बताए ।

उनले भने ‘म प्रारम्भमा नै के पनि भन्न चाहन्छु भने सुरुमै भने बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन । यो सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग हामी सहमत छैनौँ । विमस्टेकको आफ्नै उद्देश्य अन्तरगत यसमा सहभागिता जनाउने, यसलाई परिचालन गर्ने, यसलाई सक्रिय पार्ने कुरामा हामी सहमत छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भुमिका निर्वाह गर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =