केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : शेखर कोईराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।
अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन् ।
नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो ।
‘अव सात वटै प्रदेशमा हुँदैछ । भोली यही प्रदेश वागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । फेरी अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिना पछि । पक्कै बन्छ’ उनले भने‘किन हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौ सत्तामा जानका लागि । त्यो स्वभाविक हो । यसरी देश अगाडि बढन सक्दैन ।’
शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे ।
राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताए ।
‘हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ’ उनले भने‘त के गर्ने, कसरी जाने ? निर्वाचन प्रणालीलाई सुधार गरेर जान सकिन्छ कि सकिदैन ? सुधार गर्दाखेरी समानुपातिक समावेशी संविधानको मूल सिद्धान्तमा पर्छ ।’
उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे ।
‘नेपाली काँग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सर्पोटमा छैन’ उनले भने‘हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाइै दियौं । हामीहरु गठबन्धनमा जानुहुँदैन । जाँदैनौं । अबदेखि हामी एक्लै चुनाव लड्छौं भन्ने प्रण हामी गर्छौं । ढुक्क हुनुहोस–नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ ।’
नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पारे ।
मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उनको धारणा थियो ।
उनले भने–‘सत्य निरुपण तथा मेलमिलापमा नेपाली काँग्रेस लचिलो छ । एमाले अफ्ठ्यारो भएको छ । र, त्यो टिआरसी विधेयक भन्छौं हामी । त्यो पास भएन भने म त अपm्ठयारोमा पर्छु भन्ने लागेको हुन सक्छ उहाँलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गर्नुभयो । नेपाली काँग्रेसले मानिहाल्छ भनि ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ ।’








