व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरूले मनोबल कमजोर भयो, व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए ।

उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरूले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । उनले अब उद्योगी व्यवसायीहरूले निरासको मात्रै कुरा गरेर, व्यावसायिक वातावरण छैन भनेर निराश हुन आवश्यक नभएको बताए । उनले मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताए ।

अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने बताए ।

उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्ने प्राथमिक क्षेत्रहरू छन् । ती क्षेत्रहरू बाहेक निर्माण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ । बैङ्कहरूले कृषिमा १५, जलस्रोतमा १० प्रतिशत भन्ने छ । त्यस्तै निर्माण क्षेत्रमा पनि लगानी गर्नको लागि बैंक र बिमाहरूको फण्डहरु छ । आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था यति प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्नसके विकास निर्माणले गति लिने विश्वास छ । अब उद्योगी व्यवसायीहरूले निरासको मात्रै कुरा गरेर, व्यवसायीक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाऔँ । मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ । त्यसले आगामी दिन अर्थतन्त्र राम्रो हुन्छ भन्ने सन्देश उद्योगी व्यवसायीहरूले दिनसक्यौं भने छोटो समयमा अर्थतन्त्र लयमा आउनसक्ने विश्वास जनाउन चाहन्छु । व्यवसायीहरूले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरूले चाहेको आर्थिक विकास हुनसक्छ ।’

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको बाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोबल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरूले नयाँ लगानीका योजनाहरू अघि बढ्न नसकेको जानकारी गराए । उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशीलता दिन आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे । उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे । उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताए ।

उनले भने ‘मुलुकको बाह्य अर्थतन्त्रमा सुधार आएको छ । तर बाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुनसकेको छैन । मागमा वृद्धि र निजी क्षेत्रको मनोबल माथि उठ्न सकेको छैन । नयाँ लगानीका योजनाहरू अघि बढ्न सकेका छैनन् । निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ । सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशीलता दिन आवश्यकता छ । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय भनेको प्रभावकारी बजेट कार्यान्वयन हो । प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि जान सकेको छैन । निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने थियो । सरकार आगामी वर्षको बजेट बनाउन जुटेको छ । आगामी बजेटले स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्ने रणनीति लिनुपर्छ । स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा साबित हुनेगरी आउनुपर्छ ।’

उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिए । उनले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा साबित हुनुपर्ने परिसंघको माग रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *