उपनिर्वाचनले दिनेछ २०८४ को रुझान

काठमाडौं । उपनिर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण हुने भएको छ । विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका दलहरूको आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा शक्ति परीक्षण हुने भएको हो ।

अब प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् । हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क)मा हुने उपनिर्वाचनमा दलहरूबीच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।

बिहीबार बिहानसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केही स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेका छन् । इलाम-२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन तय भएको हो ।

एमालेले नेता नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवार मिलन लिम्बू, पहिचान पक्षधर नेता प्रेमदीप थाम्सुहाङ र डकेन्द्रसिंह थेगिम लिम्बूलगायतले उम्मेदवारी घोषणा गरेका छन । कांग्रेस, माओवादी केन्द्र, रास्वपासहित दलले उम्मेदवार तय गर्न आन्तरिक परामर्श गरिरहेका छन् ।

दलहरूको शक्ति परीक्षण
इलाम-२ मा हुने प्रतिनिधि सभा र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क)बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको असार २५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचनलाई राजनीतिक दलले आफ्नो प्रतिष्ठाकै रूपमा लिएका छन् ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार खडा गर्दा कुन कुन दल कति पानीमा छन् भन्ने कुरा स्पष्ट हुने बताए । ‘यो पहिलो हुने निर्वाचन प्रणाली हो,’ उनले भने, ‘कुन पार्टीको वास्तविक स्ट्रेन्थ कति हो र धरातलीय यथार्थ कस्तो छ भन्ने कुरा प्रस्ट हुन्छ ।’

उाले अघिल्लो पटक एमाले एक्लै लड्दा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन गरेको स्मरण गर्दै इलामको उपनिर्वाचनमा पहिचान पक्षधर र नयाँ दलले कसको भोट काट्छन् भन्ने कुराले परिणाम निर्धारण गर्ने बताए । कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुँदै गर्दा भोट काटिने, ट्रान्सफर हुने जस्ता विषयले उम्मेदवारको जित निर्धारण गर्ने उनको भनाई छ । ‘यही निर्वाचनले २०८४ सालको निर्वाचनलाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्छ भन्न सकिँदैन,’ उनले अगाडि भने, ‘केही अर्थ चाहिँ पक्कै राख्छ ।’

मंसिर ४ मा कसको मत कति ?
४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६, रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत प्राप्त गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले १ हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार २७२, जसपाका यामप्रसाद लिम्बू ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४, राप्रपाका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

बझाङ प्रदेश ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो । यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन ।

आयोगको तथ्यांकअनुसार मंसिर ४ को निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ३४२ मतदाता रहेकामा ६८ हजार ९५१ मत खसेको थियो । बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेकोमा ६२ हजार १७६ मत खसेको थियो । निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ । मिति घोषणा भएपछि निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने मतदाता नामावली ऐनको व्यवस्था छ ।

के भन्छन् नेताहरू ?
शीर्ष दलका नेताहरूले उपनिर्वाचनका लागि प्रचारप्रसार अघि बढाएको बताएका छन् । ‘गठबन्धन बाध्यता र तत्कालीन आवश्यकताले गरिएको थियो तर अहिले सबै दलले एक्लाएक्लै उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्ने तयारी गरिरहनु राम्रो हो,’ कांग्रेस महामन्त्री शर्माले भने, ‘उपनिर्वाचन सरकार बनाउने चुनाव होइन । आआफ्नो मतको सर्वेक्षण हो ।’

एमाले सचिव विष्टले उपनिर्वाचनमा विजयी प्राप्त गर्ने पार्टीलाई आवधिक निर्वाचनका लागि साङ्केतिक रूपमा महत्त्वपूर्ण हुने बताए । उनले अगाडि भने, ‘उपनिर्वाचनको परिणामले २०८४ को होस् वा यो निर्वाचन, जनमत सर्वेक्षणको सन्देश सकारात्मक आउँछ ।’

माओवादी केन्द्रका महासचिव गुरुङले निर्वाचनमा सहभागी हुँदै आइरहेका दलहरू नै प्रतिस्पर्धा हुने र माओवादी केन्द्रले पनि तयारी गरिरहेको स्पष्ट पारेका छन । उनले सहमतीय राजनीतिको अभ्यास र सरकारमा भएका घटकबिच सहकार्य गरेर जाँदा राम्रो हुने भन्दै त्यसका लागि प्रधानमन्त्रीले पहल र प्रयास गरेको तर अहिलेसम्म सहमति हुन नसकेको बताए । अरू दल स्वतन्त्र भए जस्तै माओवादीले पनि स्वाभाविक रूपमा उम्मेदवार उठाउने उनको भनाई छ ।

रास्वपा उपसभापति अर्यालले उपनिर्वाचनमा गठबन्धन नगर्नु सकारात्मक रहेको बताए ।  ‘चुनावी मैदानमा गठबन्धन गर्न भएन । आफ्नै शक्ति हेर्नु पर्छ । जनताको आशा र अपेक्षा कस्तो छ, कुन दलमाथि जनभरोसा छ भन्ने कुराको परीक्षण हो,’ उनले भने ।

एकीकृत समाजवादीका नेता खनालले उपनिर्वाचनमा आफ्नो पार्टीले गठबन्धन नगर्ने बताए । मुख्य रूपले पार्टी निर्माणको प्रक्रियाका रूपमा लिँदै साङ्गठनिक अवस्थाको परीक्षण गरेर पार्टी निर्माणको अवसरका रूपमा सदुपयोग गर्ने उनको प्रस्टउक्ति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *