सुरु भयो यसवर्षको एसईई (तस्बिरहरु)

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान ८ देखि सुरु भएर ११ बजेसम्म चल्ने परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी रहेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक-एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।

नेपाल बाहिर पनि एसईई परीक्षा सञ्चालन भएको छ । केही वर्षदेखि जापानमा पनि एसईई परीक्षा भइरहेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले दिएको जानकारीअनुसार यस पटक पनि जापानमा एउटा केन्द्रमा परीक्षा लिइने छ ।

जापानको एभरेष्ट इन्टरनेसनल स्कुलबाट १५ छात्रा र ८ छात्रा गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी छन् । एभरेष्ट इन्टरनेसनल स्कुल नेपालबाहिर नेपाली पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा सञ्चालन हुने एक मात्र विद्यालय हो ।

बोर्डले यसपटकबाट परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । बोर्डले यस वर्षको परीक्षामा लेटर ग्रडिङ निर्देशिका २०७८ लागू गरेको छ । यो प्रणाली अन्तर्गत विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने छ ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । उनीहरुले पुनः मौका परीक्षा दिनुपर्ने छ । विगतका वर्षमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याए पुग्ने प्रावधान थियो । परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *