माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवारी उठाउने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनकाअनुसार उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्नेछ ।

प्रवक्ता सापकोटाले भने, ‘आजको हाम्रो पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदैछ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ ।’

उनले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुंगिनसकेकाले बिहीबारसम्म मुख्यमन्त्रीहरूको पनि टुंगो लाग्ने बताए । वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *