नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरूलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताइन् ।

उनले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताइन् । उनले आइटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् । उनले सूचना प्रविधि उद्योगको प्रवर्द्धनका लागि देश भित्र र बाहिरका साना तथा ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पारिन् ।

मन्त्री शर्माले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिहरूको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताइन् । उनले सञ्चार मन्त्रालयले लगानी सम्मेलनमार्फत अघि सारेका विभिन्न परियोजनामा लगानीको वातावरण बनाउन लगानीकर्ताहरूको ध्यानाकर्षण पनि गराइन् ।

उनले भनिन् ‘नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरूलाई एकै थलोबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको अभाव रहेकाले चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ । यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ भन्ने हाम्रो विश्वास छ । सूचना प्रविधि उद्योगको प्रवर्द्धनका लागि देश भित्र र बाहिरका साना, ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार छ । विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेनजस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरूको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर पनि हामीले तयारी गरिरहेका छौँ । लगानी सम्मेलनमार्फत हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट डाटा सेन्टर, आइटी टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्ली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्र्याक्चर तथा एसम्बल प्लान्ट, इन्कुभेसेन सेन्टर र फिल्म सिटी गरी महत्वपूर्ण आठ वटा परियोजना अगाडी सारेका छौँ । हामीले अगाडी सारेका परियोजनामा लगानीको वातावरण बनाउन म लगानीकर्ताहरूको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

मन्त्री शर्माले सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभई विदेशी लगानीकर्ताहरूको समेत उपयुक्त स्थल भएको बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आइटी उद्योगहरू सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको बताइन् ।

उनले भनिन् ‘सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्रै होइन विदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी त छदैछ । दक्ष जनशक्तिको उपलब्धताको कारण कम लागतमा आइटी उद्योगहरू सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ । प्रत्येक वर्ष दश हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेका छन् र अहिलेपनि झन्डै एक लाख युवाहरू सूचना प्रविधि सेवा निर्यात क्षेत्रमा क्रियाशील रहेकाले यहाँ दक्ष जनशक्तिको अभाव छैन । सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नेगरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध छ । साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक साइबर सुरक्षा नीति २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । त्यस्तै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ । डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्न जरुरी भएको छ । दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीनतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेगरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको छ । सूचना तथा सञ्चार प्रविधि नीति २०७२, दूरसञ्चार नीति २०६० लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ । निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातावरण सिर्जना गर्न कानुन तथा मापदण्डको तत्काल तर्जुमा गरिनेछ । लगानी प्रवर्द्धन गर्नेगरी अन्य आवश्यक कानुनको तर्जुमा गर्ने काम पनि सम्बन्धित मन्त्रालयहरूबाट भइरहेको छ ।’

मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिहरूलाई समयानुकूल परिमार्जन गरिरहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *