सिद्धान्तविहिन राजनीतिक ध्रुवीकरणले दुर्घटना निम्तिने राजनीतिक विश्लेषकहरूको चेतावनी

काठमाडौँ । राजनीतिक विश्लेषकहरूले नेपालमा सिद्धान्त र विचारविहिन राजनीतिक ध्रुवीकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिनसक्ने खतरा औँल्याएका छन् ।

राजनीतिक दलहरूले विचार, सिद्धान्त र एजेण्डामा एकरूपता नहेरी सत्ता स्वार्थमा राजनीतिक ध्रविकरण गर्ने गरेकाले यसको निरन्तरता भइरहे निकट भविष्यमा राजनीतिक दुर्घटना निम्तिनसक्ने बताएका हुन् । सोमवार्रै उनीहरुले राजनीतिक दलहरू निश्चित आधार मुद्दा र मापदण्डका आधारमा नभई केवल सत्ता स्वार्थका खातिर ध्रुवीकृत अथवा विकेन्द्रित हुने गरेका बताएका छन् ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले देशका राजनीतिक दलहरूमा सत्तामा जानु नै उपलब्धि हासिल हुनु र सत्तामा जान नसक्नु नै असफल हुनु हो भन्ने भाष्य स्थापित भएको बताए । उनले यसकारण देशको राजनीति अवसरवाद र अनैतिकतामा पुगेको बताए ।

उनले भने ‘हाम्रो राजनीतिलाई अवसरवाद र अनैतिकतातिर लग्यो । यस्तो राजनीतिलाई ध्रुवीकरण भनिँदैन ।’

उनले वर्तमान राजनीतिक अवस्थालाई ध्रुवीकरणको अवस्था भन्न समेत नसकिने बताए । उनले साझा मुद्दाको आधारमा एकताबद्ध हुने कुरालाई ध्रुवीकरण भन्न सकिने बताए ।

नेपालमा भने सत्तालिप्सा र गणितको खेलमा मात्रै एक हुने गरिएकाले त्यसलाई धु्रविकरण मान्न नसकिने उनको भनाई छ । राजनीतिक विश्लेषक खतिवडाले यसप्रकारको राजनीतिक परिपाटीले देशलाई यथास्थितिको गोलचक्करमा फसाउने अथवा राजनीतिक शक्तिहरूको विश्वसनीयता समाप्त हुने बताए ।

उनले भने ‘राजनीतिक दलहरूको सत्तालिप्सा र नेताहरूको गुटमोह, परिवारमोह वा निजी स्वार्थहरूले गर्दाखेरि आज राज्य र राष्ट्रको वैधता र विश्वसनीयतामाथि ठुलो संकट आएको छ जस्तो मलाई लाग्छ । एउटा त काहीँ पनि नपुग्ने, गोलचक्करमा फस्ने । अर्को चाहिँ पुराना राजनीतिक शक्तिहरूको विश्वसनीयता समाप्त हुने र एउटा युगको अन्त्य भएर अर्को युगको थालनी हुने । नयाँ राजनीतिक शक्तिहरूको उदय भएर पुरानाहरूलाई प्रतिस्थापन गर्ने । अहिलेसम्म हामी दुष्चक्र र गोलचक्करमा फसेजस्तो देखिन्छौँ । तर मान्छेहरूले विकल्पहरू खोज्न थालेको गत वर्षको चुनावमा पनि देखियो । तर पर्याप्त विश्वसनीय विकल्प प्राप्त नहुँदाखेरी कतिपय मतदाताहरूले पुरानै राजनीतिक दल र नेताहरूलाई साथ दिइरहेका छन् । तर यसरी लामो जाँदैन जस्तो लाग्छ मलाई । कम्तीमा पाँचदेखि दश वर्षभित्र नेपालको राजनीति, अर्थतन्त्र, प्रशासन र समग्र सामाजिक व्यवस्थाले एउटा नयाँ मोड लिन सकेन भने यो राष्ट्रको लागि दुर्भाग्य हुन्छ ।’

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अहिलेको राजनीतिक गठबन्धनहरू आफूले अवसर पाउने कुरामा मात्रै केन्द्रित भएको बताए । उनले सिद्धान्तविहीन र नीतिविहीन ध्रुवीकरण केवल अवसरको भगचलनका लागि मात्रै हुने बताए । देशमा ठूलो संकट पर्दा र एक हुनुको विकल्प नहुँदा राजनीतिक दलहरूका बिचमा मिलेर देश चलाउनुपर्ने अवस्था आउने उनको भनाई छ । उनले अहिले त्यस प्रकारको अवस्था नभएको बताए ।

सत्तालाई नै अन्तिम सत्य मानेर केवल शक्ति बाँडफाँट र सरकार फेरबदल हुने गरेको भन्दै उनले यसले नागरिकको निराशालाई बढाउने बताए । उनले नागरिकको निराशा बढ्दै गएमा त्यसले भयानक विस्फोट गराउने बताए । नागरिकको निराशा विस्फोट भएमा सो विस्फोट राजनीतिक प्रणालीमाथि नै हुन सक्ने उनले बताए ।

उनले भने ‘यो अवसरको कुरा हो । अवसर कसले, कता, कहाँनेर प्राप्त गर्छ, त्यो हिसाबले भएका सहसम्बन्ध हुन अहिलेका । यो विल्कुलै सिद्धान्तविहीन, एक प्रकारले भन्ने हो भने अराजक र नीतिविहीन पनि भन्न मिल्छ । किनभने विचार मिल्नेहरूका बीचमा सहकार्य हुन्छ । सहयात्रा, गठबन्धन हुन्छ । एकदमै ठुलो राष्ट्रिय संकट परेको छ भने त्यस्तो बेलामा सबै एक ठाउँमा हुन सक्छन् । जस्तोस् ०६२÷०६३ सालमा राजा मान्ने बाहेक सबै विचारमा मान्छे एक ठाउँमा भए । त्यस्तो अवस्था आउनसक्छ । अन्यथा सामान्य अवस्थामा जति सत्ताका लागि गठबन्धनहरू भएका छन् ती सिद्धान्तविहीन नै हुन् । कुनैपनि आधारमा यसलाई पुष्टि गर्न सकिँदैन ।’

उनले भने ‘राष्ट्रिय संकट परेको बेलामा, सबै राजनीतिक दलहरू मिलेर मात्रै देश चलाउनुपर्ने बेलामा अथवा यो वा त्यो राजनीतिक दलको नेतृत्वले मात्रै देश चलाउन सक्छ भन्ने अवस्था सिर्जना भएको भए यस्ता कुराहरू जायज हुनसक्थे । अन्यथा अहिले नेपालको सन्दर्भमा भन्ने हो भने अन्तिम सत्य भनेको सत्ता हो । सत्ता बाहेक कुनैपनि सत्य छैन भन्ने सिद्धान्तका आधारमा अहिले सबै शक्ति सन्तुलनका कुरा, सरकारका फेरबदलका कुरा, गठबन्धनका कुरा, शक्ति बाँडफाँटका कुरा भइरहेको छ । आम नागरिकमा निराशा व्यक्त हुन सक्छ भोलि । त्यसो भएमा भयानक विस्फोट हुन सक्छ । त्यो विस्फोट भनेको अहिलेको राजनीतिक प्रणालीदेखि, राजनीतिक नेतृत्व सबैका विपक्षमा हुनसक्छ । निराशा भयो भने स्वाभाविक रुपमा त्यसले निकास खोज्छ, त्यो निकास खोज्ने बेलामा प्रणाली पनि भन्दैन । नेता पनि भन्दैन ।’

विश्लेषक दाहालले राजनीतिक दलका नेताहरूले नैतिकता देखाउनुपर्ने बताए । उनले कसैमाथि नैतिक प्रश्न उठेमा त्यो प्रश्नको समाधान हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *