राष्ट्रिय चिया दिवस चिया बगानमै आयोजना गर्नुपर्दथ्यो : कृषिमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

२८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिवार काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

६० हजार बढिलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने मन्त्री साहले बताइन् । उनले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेको बताइन् । मन्त्री साहले काठमाडौंको हलमा यो कार्यक्रम आयोजना गरिएकोमा राष्ट्रिय चिया तथा कफी बोर्डको पदाधिकारीप्रति असन्तुष्टि पनि व्यक्त गरिन् । इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाई थियो ।

उनले भनिन् ‘धेरै कुराहरू आइसकेको छ कि यो चिया, कफी बोर्ड यसको विकासका गर्नका लागि बोर्ड बनेको हो । तर दुई वर्षमा बैठक बस्छ । त्यसमा पनि भत्ता र सरुवा हुनेकुरा यहाँ आइसक्यो । सुझाव दिनेहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । र जो वास्तविक कृषक छ । १६ हजार लगभग किसानहरूले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरूमा जो सुरुवात गर्नुभएको छ । चिया तथा कफी व्यवसायीहरूले जो सुरुवात गर्नुभएको छ । र अझ बिस्तार गरेर १४ जिल्ला अझ थप गर्नुभएको छ । खुसीको कुरा कहाँनिर छ भने हामी निराश भन्दा पनि हिजोको ४ वटा जिल्ला झापा, इलामबाट सुरु चिया आज झापा, तेह्रथुम, धनकुटा, पाँचथर लगायत अझ हामीले बिस्तार गरेर सबै गरेर १९ जिल्लामा हामी काम गरिराखेका छौं । जसमा ६० हजार श्रमिकहरूले काम गर्न पाएका छौं । यो चानचुन कुरा होइन । देशलाई समृद्ध बनाउन पनि हामी जे जति छ, त्यसैमा सन्तुष्टि गरेर आउने समस्यालाई समाधान गरेर अगाडि बढ्न सक्यो भने हामीले हाम्रा समस्याहरूलाई समाधान गर्ने आँट पनि गर्नुपर्छ ।’

मन्त्री चौधरीले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न पनि व्यवसायीहरूलाई आग्रह गरिन् । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लाहरूमा पनि पर्ने भएकाले यस पटक पनि सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको स्पष्टीकरण दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *