कांग्रेस संसदीय दलको बैठक सर्‍यो, देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो ।

तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्नेगरी बोलाइएको छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएको केन्द्रीय समितिको आकस्मिक बैठक जारी छ । पूर्वमन्त्री गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । ८४ वर्षीय गुरुङको काठमाडौँको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको थियो ।

उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुन् । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा गुरुङले ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए । गुरुङले क्रान्तिकै क्रममा २०१८ मा सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरी कारागारका कैदी बन्दीहरूलाई भगाएका थिए । त्यसपछि उनी लामो समय भारत निर्वासित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *