कोशीमा फेरि किचलो

मुख्यमन्त्री बन्न दाबी पेश गर्दै एमालेका कार्की, प्रक्रिया रोक्न सर्वोच्च जाने तयारीमा कांग्रेसका कार्की

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले वैकल्पिक सरकार गठनको आह्वान गरेसँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की गएको डेढ वर्षीय प्रदेशसभाको दोस्रो संस्करणमा तेस्रोपटक मुख्यमन्त्री बन्नेतर्फ उन्मुख भएका हुन् ।

नेता कार्कीले आजै दाबी पेश हुने बताए । ‘प्रदेश प्रमुखले आह्वान गरेअनुसार हामी दाबी पेश गर्नेछौं । त्यसपछि प्रदेश प्रमुखले कहिले बोलाउनु हुनेछ,’ उनले भने, ‘हामी सम्भवतः भरे बेलुकासम्म सथपग्रहणको तयारीमा छौं । सकेसम्म आजै सबै काम टुंग्याउने प्रयासमा छौं ।’

दलका नेता कार्कीले सपथग्रहण पछि विश्वासको मत नलिउन्जेल सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताए । नयाँ सरकार गठनका लागि आह्वान भएसँगै माओवादी सांसदसहित ५२ जनाले मुख्यमन्त्रीको लागि कार्की नेतृत्वलाई अघि सार्दै दाबी गर्ने तयारी छ ।

नयाँ सरकार गठन आह्वान
प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा प्रदेशसभाका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको र प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनेसम्बन्धी कुनै प्रस्ताव प्रदेशसभामा दर्ता नभएको जानकारी आएकाले बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।

एमाले र माओवादीले पेस गरेको संकल्प प्रस्ताव वैशाख ७ को प्रदेशसभा बैठकले पारित गरेको थियो । आफू अनुकूल निर्णय आएपछि एमाले-माओवादी नेताहरू खुसी देखिएका छन् । नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएसँगै सोही उपधाराअनुसार चयन भएका बहालवाला मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् ।

सर्वोच्च जाने तयारीमा कार्की
मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार आव्हानविरुद्ध अदालत जाने तयारी गरेका छन् । सरकार गठन प्रक्रिया रोक्न माग लिएर उनी सर्वोच्चमा रिट दायर गर्ने तयारीमा पुगेको बताइन्छ ।

यसका लागि उनी काठमाडौं आइसकेका छन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् । कांग्रेस नेता कार्की २०८० असोज २८ मा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पछि माओवादीका १३ र कांग्रेसका अन्य २१ सांसदले पनि कार्कीलाई विश्वासको मत दिएका थिए । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सहित ३३ सांसदको मात्र उनलाई साथ थियो ।

एमालेका ३९, माओवादीका १३, जनता समाजवादीका १ सहित ५३ सांसद उनको विपक्षमा उभिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीले दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *