स्वास्थ्य अवस्था नाजुक भएर महरालाई हाजिरी जमानीमा छाडिएको हो : रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएका छन् ।

सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिएका हुन् । बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे ।

उनले भने ‘हो कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरू छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरू आइरहेका छन् । ८/१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ ।’

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उहाँलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।

‘कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । दोषी कोही पनि उम्कँदैनन्, निर्दोष कोही पनि फस्दैनन् । निर्धक्क हुनुहोला । नआत्तिनु होला, धैर्य गर्नुहोला । मैले अघि भनेजस्तै माछा ठूलो होस्, चिप्लो होस, बाठो होस, जस्तोसुकै होस । उम्कँदैन । माछा उम्केको एक मिनेटमा पदबाट राजीनामा दिएर आउँछु ।’

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताए । तर एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले नेपाली काँग्रेसले नैतिकताको कुरा आफूमाथि देखाएपनि तत्काल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा दिएको बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश व्यक्त गरे ।

उपप्रधानमन्त्री लामिछानेले भने ‘संसद अवरुद्ध पारिएको छ । अनेक बहाना बनाएको छ । प्रधानमन्त्रीको जवाफ मागेको थियो, जवाफ आयो । अब हुँदैन प्रधानमन्त्रीको जवाफ अब संसदीय समिति चाहिन्छ भन्ने सुनिरहेको छु मैले । गृहमन्त्रीको राजीनामा पनि मागिएको छ भन्ने मैले सुनिरहेको छु । म स्पष्ट पार्न चाहन्छु–काम गर्न नसकेको बेला तपाईँहरूले संसद वा सडकमा राजीनामा माग्दै पर्दैन । रास्वपाका मान्छेहरू खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन् । तर कसैले एउटा चिर्कोटमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिने चिज माग्ने नेपाली काँग्रेस, जो अस्तिसम्म झन्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो ।’

उनले भने  ‘के अप्ठ्यारो छ भने नेपाली काँग्रेसका साथीहरूलाई बुझेको केही छैन, तर सबै बुझेको जस्तो पनि गर्नुपरेको छ । त्यो समस्यामा उहाँहरू हुनुहुन्छ । म एउटा स्पष्ट कुरा राख्न चाहन्छु । मेरो विषयमा पटकपटक हाम्रो बारेमा बुझ्नुहोला, सोध्नुहोला भनेर आन्तरिक लोकतन्त्रलाई स्पष्ट पारेर बैठक चलाएको छौं हामीले । मेरो विषयमा प्रश्न उठेका विषयमा हामीले यथेष्ट संवाद गरेका छौं । र मैले त्यसलाई सार्वजनिक पनि गरेको छु । तर मेरो जवाफ संसदमा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्षले राखेन । मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझ स्पष्ट प्रार्थ्ये । र, यति ठूलो इतिहास बोकेको दल ठाडो उजुरीमा किन सदननै अवरुद्ध पार्न पुग्यो ।’

उपप्रधानमन्त्री लामिछानेले नेपाली काँग्रेसले आफ्नो कुरा सुन्ने धैर्यता समेत नराखेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =