स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील छ : स्वास्थ्यमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताए ।

‘प्राकृतिक प्रकोपको बेला तपाईहरुले मानिसहरुको जीवन रक्षाका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ’उनले भने ‘त्यो भुमिकाले पनि अझ यसलाई व्यवस्थित गर्नसक्यौँ र अझ यसलार्य संख्या बढाउँदै सेवा प्रवाहलाई अझ व्यवस्थित गर्न आजको आवश्यकता छ । र यो कुरालाई हामीले बुझेका छौं । स्वास्थ्य मन्त्रालयले पनि बुझेको छ ।’

उपप्रधानमन्त्री यादवले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

उनले सो संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए ।

नेपालमा कोभिड, भूकम्प लगायतका संकटको बेलामा इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भुमिकाको प्रशंशा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा पनि नेपाल सरकारले गरेको बताए ।

‘फ्युचरमा पनि सेवा प्रवाह गर्न सहज रुपमा नेपाल जस्तो भौगोलिक विविधता, जटिलता भएको मुलुकमा यहाँहरुको अत्यन्त महत्वपूर्ण भुमिका हुने नै छ’उनले भने ‘विगतमा पनि धेरै संकटहरुको बेला चाहे त्यो कोभिडको संकटको बेलामा होस्, चाहे त्यो भूकम्पको बेलामा होस् ।’

उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरुको भुमिका महत्वपूर्ण हुने गरेको स्मरण पनि गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *