रवि लामिछानेको अभिव्यक्ति गैरजिम्मेवार : प्रकाशशरण महत (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

बुधवार संसद भवन परिसरमा कुरा गर्दै उनले काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा काँग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाए ।

उनले काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए । उनले काँग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

उनले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताए । उनले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताए ।

उनले भने– ‘हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका छौँ । यो कुनै अनुचित होइन । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, त्यसैले छानबिन गर्ने कुरा गाह्रो हुन्छ । निष्पक्ष छानबिन हुनुपर्छ । संसदीय समिति बन्नुपर्छ । संसदीय समिति वा न्यायिक समितिहरु पहिला पनि बन्दै आएका हुन्, सहजै बनेको हो । हामीले अहिले राजीनामैलाई पूर्वशर्त त बनाएका छैनौँ । कम सेकम छानबिन त गर । छानबिन स्वार्थ नबाझिने गरी गर । उहाँ त्यसको प्रमुख हुनुहुन्छ, उहाँकै निगरानीमा रहने संयन्त्रले कसरी निष्पक्ष छानबिन गर्दछ । त्यसको एउटा निक्र्यौल नै नआइकन प्रधानमन्त्रीले केही पनि भएको छैन भन्नुहुन्छ । त्यसले झनै यसमा शंका थपियो । उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ । छानबिन गर्नुपर्छ भन्दा काँग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु त गैरजिम्मेवार हो नि ।’

उनले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =