‘नेपालीहरुले बौद्धिकताको माध्यामबाट नेपाललाई विश्वमाझ चिनाएका छन्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुले बौद्धिकताको माध्यामबाट पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठालाई स्थापित गराएको बताएका छन् ।

शनिवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित ‘प्रा. सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकर्पण गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले डा. सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरु प्रभावित रहेको समेत बताए ।

उनले विस्तृत शान्ति सम्झौताको बेला पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र आफूले डा. सुवेदीको कानून क्षेत्रको विज्ञताबाट लाभ लिएको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको संविधान बनाउन, भारतसँग भएका सन्धि, सम्झौताका लागि प्रस्ताव तयार पार्न र संसदबाट एमसीसी पास गराउन पनि आफूले रोजेको मध्यमार्गी बाटो पनि डा. सुवेदीको विज्ञताको प्रतिफल भएको बताए ।

उनले भने– ‘बौद्धिकताको हिसावले र कानूनको विज्ञको हिसावले पनि उहाँले सिंगै नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय स्तरमा राम्रोसँग स्थापित पनि गर्नुभएको छ । प्रतिनिधित्व पनि गर्नुभएको छ । यो कुराको जानकारी मैले विस्तृत शान्ति सम्झौंतमा हस्ताक्षर गरेको लगत्तै अलि रुचिपूर्वक उहाँको बारेमा अध्ययन गर्न थालेको थिएँ । उहाँले अघि भनेजस्तै गिरिजाबाबुसँगका कुरा वा मसँग भएको छलफलहरु सबैबाट पनि म र हामी सबै राजनीतिक नेतृत्वहरु पनि उहाँको बौद्धिकता, विज्ञताबाट प्रभावित पनि थियौ । र त्यसलाई देशको हितमा, हाम्रो लोकतान्त्रिक प्रक्रियाको हितमा सदुपयोग गर्नका लागि हामी निरन्तर प्रयास पनि गर्दै आएका थियौं । मैले अहिले लामो व्याख्या गर्न त सम्भव छैन । मेरो आफ्नो आफ्नै अनुभव के रह्यो भन्ने कुरा राख्न चाहन्छु । म पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्री बनिसकेपछि त्यतिबेलाको परिवर्तनको जुन रापताप थियो । त्यो बेलाको प्रधानमन्त्री हुुनुको नाताले मैले थुप्रै अन्तराष्ट्रिय सन्धिसम्झौताबारे अव पुनरावलोकन गर्नुपर्छ, परिमार्जन, परिवर्तन जेजे सम्भव छ, त्यही बेला गर्नुपर्छ भन्ने कुरा मलाई त्यतिबेला निकै गम्भिर रुपले लाग्थ्यो । र मैले डा. सूर्य सुवेदीजीलाई भारतसँग कतिपय सन्धि सम्झौता पुनरावलोकनका लागि म अघि बढदैछु । तपाईलाई त्यसको सबै जानकारी पनि छ । यसको लिगल र पोलिटिकल एक्सपेक्ट के हो भन्ने पनि तपाईलाई थाहा छ । त्यसकारण मेरो लागि एउटा ड्राफ्ट तपाईले गरिदिनु प¥यो भने मैले । मैले उहाँको त्यो ड्राफ्टलाई धेरै स्तरीय माने । त्यो मसँग अझै सुरक्षित छ ।’

प्रधानमन्त्री दाहालले नेपालमा हितमा हुने कुनैपनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्नुपर्दा उनको सुझाव धेरै उपयोगी हुने बताए ।

उनले ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकले युवा पुस्तालाई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =