आगलागीबाट पुलमा क्षति

कर्णाली पुलका क्षतिग्रस्त वस्तुको ल्याब परीक्षण, आवागमन खुल्न अझै तीन दिन लाग्ने

काठमाडौं । सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । बुधबारदेखि प्राविधिकको टोलीले क्षतिग्रस्त वस्तुको अध्ययन गरिरहेको हो ।

महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गरिने बताए । पुलको सतह र लठ्ठाको तारमा भएको क्षति तथा सवारीसाधन सञ्चालनका लागि गर्नुपर्ने मर्मतसम्भारबारे अध्ययन भइरहेको पुल उनले बताए । आगलागीबाट पुलको दुवैतर्फका सात-सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको छ ।

रिपोर्टको विश्लेषण र परीक्षण गरेपछि पुलको अवस्थाबारे थाहा हुने उनले बताए । ‘पुलको मुख्य लठ्ठाको तार जलेको छ, नमुना लिएका छौँ, तारमा कति क्षति पुग्यो भनेर परीक्षण गरेपछि थाहा होला,’ इन्जिनियर अधिकारीले भने, ‘हामीले सबै रिपोर्ट संकलन गरेका छौँ, रिपोर्टको विश्लेषण र परीक्षण गरेपछि आगलागीबाट पुलमा पुगेको क्षति र त्यसले पुललाई गर्ने असरबारे थाहा होला ।’

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको ना. ५ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुलमा सोमबार दिउँसो आगलागी भएको थियो । गुडिरहेको ट्रकमा आगलागी भएर क्षति पुगेपछि पुलमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

आगलागीले क्षतिग्रस्त पुलको सतह मर्मत गर्नुपर्ने भएकाले पुलमा यातायात सञ्चालन गर्न केही समय लाग्ने इन्जिनियर अधिकारीले बताए । यातायात नियमित गर्न कम्तीमा तीन दिन लाग्ने उनको भनाइ छ । ‘सतह मर्मतको काम भोलिबाटै सुरु हुन्छ, मर्मत गर्न तीन दिनजति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेल रिपोर्ट तयार गरिसक्छौँ ।’

केन्द्रमा विज्ञसँग बसेर नमुनाको विश्लेषण र छलफल गरिने क्षतिको अध्ययनका लागि आएका प्राविधिकले बताएका छन् । ट्रकमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्रक र त्यसमा रहेका एक हजार एक सय कार्टुन लाइटर जलेर नष्ट भएका छन् । पुलमा यातायात बन्द गरिएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधन हुलाकी राजमार्गअन्तर्गत टीकापुर-नेपालगन्जको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।

किन महत्वपूर्ण छ यो पुल ?
जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ ।

यस भेग भ्रमणमा पुग्नेले पुल नजिक सवारीसाधन रोकेर सेल्फी लिने गर्छन् । यो पुल बनेसँगै चिसापानी बजारको विकास समेत तीव्रतासाथ भएको हो । यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र र्‍याफ्टिङ गर्न वर्षेनि हजारौं पर्यटक पुग्ने गर्छन् ।

तर यो पुल बने यता मर्मत सम्भार हुन सकेको छैन । सशस्त्र युद्धको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त हुँदा पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *