राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया बन्नु हुँदैन : सांसद सुवेदी

काठमाडौँ । राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वाभाविक रुपमा लिन आवश्यक रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका यावत समस्या समाधान गर्न सबैको भुमिका निर्णायक हुने बताए । उनले राष्ट्रिय सभा सदस्यहरूको भुमिका कानुन निर्माण भएको पनि बताए । उनले राष्ट्रिय सभा सदस्यहरूको भुमिका कानुन निर्माणसँगै विकास निर्माण र राजनीतिक भूमिकामा पनि जोडिने बताए ।
उनले भने ‘सरकारहरू बन्छन्, परिवर्तन हुन्छन्, हामी हिँड्दा पनि त दुई खुट्टाले हिँड्छौँ कहिले दायाँ र कहिले बायाँ । चार दिनअघिसम्म देशले, सरकारले दायाँ कदम चाल्यो । चार दिन यता बायाँ कदम चाल्यो । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । हिजो वामपन्थी र लोकतान्त्रिकहरूको सरकार थियो, अहिले वामपन्थीहरूको वर्चस्व रहेको सरकार छ । हामीलाई लाग्छ, नेपालका यावत समस्या समाधान गर्नेमा यसको निर्णायक भुमिका हुन्छ । हाम्रो भुमिका भनेको कानुन निर्माण गर्ने हो । हाम्रो भुमिका विकास निर्माणसँग पनि जोडिएको छ किनभने जनताबाट निर्वाचित प्रतिनिधि हौँ । हाम्रो राजनीतिक भुमिका पनि हो ।’
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा फरक भएकाले प्रतिनिधि सभाको छाया राष्ट्रिय सभा बन्नु नहुने बताए ।








