नोवेलमा १० वर्षीय बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर । ‘ब्रेन ट्यूमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर ।

वयस्क र वृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा हुन्छ । यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्सिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै बिस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्सिया दिपिका ऋषिदेबलाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो ।

बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।

‘बिरामीको बुबा आमाले बिरामीको अवस्थाको कारण आस मारिसकेका थिए’ उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा. डा. एडमण्ड जोनाथानले भने ।

उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् ।

बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावक सँग छलफल पछि बिरामीको उपचार अगाडि बढ्यो । बिरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलब्ध गरिएको उनले बताए ।

 शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीले भने शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठूलो ट्यूमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शल्यक्रिया पछि बिरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ । बिस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौं ।

बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीको बुबाले भने ‘पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाउँ देखायौँ तर कहीँ निको भएन । नोवेलले हामीलाई धेरै सहयोग गर्यो । यहाँ आए पछि अपरेसन सक्सेस भयो । अहिले मेरो नानीले हिँड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउन्ट पनि दिएको छ ।’

डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो बिरामीहरूको सिटी स्क्यान गर्न जरुरी हुन्छ ।

अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित छ । न्यूरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिशत सम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *