फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी

एजेन्सी । फ्रान्सको राष्ट्रिय मौसम विज्ञान निकाय ‘मेटियो–फ्रान्स’ले देशका ७२ विभागहरूमा अत्यधिक गर्मीका कारण बिहीवार मध्याह्नदेखि लागू हुनेगरी ‘रेड अलर्ट’ (उच्च शतर्कता) जारी गरेको छ ।

फ्रान्स विगत नौ दिनदेखि तिब्र गर्मीको लहर (हिटवेभ) को चपेटामा परेको छ । मौसम पूर्वानुमान अनुसार, बिहीबारको यो उच्च शतर्कताबाट फ्रान्सको कुल जनसंख्याको तीन–चौथाई भन्दा बढी अर्थात् करिब ५ करोड १० लाख मानिस प्रत्यक्ष प्रभावित हुनेछन् ।

यसैगरी, ‘रेड’ र ‘अरेन्ज’ दुवै तहका चेतावनीको दायरामा देशभरका करिब ६ करोड ३५ लाख मानिस परेका छन् । तापक्रममा भएको यो वृद्धिले फ्रान्समा राष्ट्रिय कीर्तिमान समेत तोडेको छ ।

‘मेटियो–फ्रान्स’का अनुसार देशभरका ३० वटा सन्दर्भ केन्द्रहरूको दिन र रातको औसत तापक्रम मापन गर्ने ‘राष्ट्रिय थर्मल सूचक’का आधारमा मंगलवार र बुधवार फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिनका रूपमा दर्ता भएका छन् ।

यस पटक राष्ट्रिय थर्मल सूचक ३० डिग्री सेल्सियस पुगेको छ । यसअघि २५ जुलाई २०१९ र ५ अगस्ट २००३ मा तापक्रम २९.४ डिग्री सेल्सियस पुग्दा अघिल्लो कीर्तिमान कायम भएको थियो ।

गर्मीको यो लहर तत्कालै कम हुने संकेत देखिएको छैन, जसका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा र तीव्र घामका कारण सर्वसाधारणहरूले सास्ती खेप्नुपरिरहेको छ ।

स्थानीय बासिन्दाहरूले गर्मीका साथै तातो हावाको समस्याका कारण दैनिक क्रियाकलापमा कठिनाइ भइरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =