नेदरल्याण्ड्समा अत्याधिक गर्मीको जोखिमः ‘कोड ओरेन्ज’ सतर्कता जारी

एजेन्सी । नेदरल्याण्ड्सको रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशका मध्य र दक्षिणी क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गर्दै ‘कोड ओरेन्ज’ (उच्च जोखिम) सतर्कता जारी गरेको छ ।

बढ्दो तापक्रमले जनस्वास्थ्य र दैनिक गतिविधिमा गम्भीर असर पार्नसक्ने चेतावनी दिँदै मौसम विभागले जुन २६ सम्मका लागि यो अलर्ट जारी गरेको हो ।

गर्मीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा वातावरणका लागि राष्ट्रिय संस्थानले ‘राष्ट्रिय ताप योजना’ समेत कार्यान्वयनमा ल्याएको छ । मौसम पूर्वानुमानअनुसार तापक्रम ३० डिग्री सेल्सियसभन्दा निकै माथि पुग्ने अनुमान गरिएको छ ।

यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका र पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई बढी जोखिममा पार्न सक्ने देखिएको छ ।

मापदण्डअनुसार लगातार तीन दिनसम्म ३४ डिग्री सेल्सियस, दुई दिनसम्म ३६ डिग्री सेल्सियस वा कुनै एक दिन ३८ डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना भएमा मात्र ‘कोड ओरेन्ज’ जारी गर्ने गरिन्छ ।

नेदरल्याण्ड्सको मौसम सेवाको इतिहासमा वर्षको यति छिटो समयमा यस्तो कडा चेतावनी जारी गरिएको यो पहिलो पटक हो ।

बढ्दो गर्मीबाट बच्न अधिकारीहरूले सर्वसाधारणलाई पर्याप्त मात्रामा तरल पदार्थ पिउन, दिनको सबैभन्दा गर्मी समयमा कडा शारीरिक श्रम वा बाहिरी गतिविधि नगर्न र सम्भव भएसम्म शीतल स्थानमा बस्न आग्रह गरेका छन् ।

यसैबीच, गर्मी व्यवस्थापनका लागि राजधानी एम्स्टर्डममा पहिलो पटक आधिकारिक सार्वजनिक ‘कुलिङ स्टेशन’ (शीतलता केन्द्र) हरू सञ्चालनमा ल्याइएको छ ।

साथै, देशको दक्षिणी भागमा सडक अधिकारीहरूले सुरक्षाका विशेष उपायहरू अवलम्बन गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =