चितवन, दाङ, कास्की र धदिङमा सवारी दुर्घटनामा हुँदा चार जनाको मृत्यु

काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका–१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३–००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३–००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङ, लमही नगरपालिका–३ मझगाउँस्थित सडकमा लु.२ ख ६३७ नम्बरको ट्रक र रा.७ प १४३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, रूपा गाउँपालिका–६ घिमिरेथरस्थित सडकमा ग.१४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका–७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै धदिङ, गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढी बस्ने १९ वर्षीय बिशाल केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








